–इभा हामरुड
सन् १८७९ मा बिजुली बल्व आविष्कार भएयता हामी सूर्यबाट पाइने प्राकृतिक प्रकाशमा निर्भर हुन छाडेका छौँ । अहिले मानिसहरू अधिकांश समय बिजुलीसहितको कोठामा मात्र बस्दैनन्, फोन, कम्प्युटर र टेलिभिजनको स्क्रिन अघिल्तिर समय बिताइरहेका हुन्छन् ।
हालैको एक अध्ययनबाट निरन्तर चमकदार स्क्रिन अघिल्तिर बसिरहँदा सूर्यको प्रकाशसँगै निदाउने र निद्राबाट जगाउने चक्र चलाउने मानव शरीरको आन्तरिक घडी ‘सर्केडियन लय’मा गडबड हुने पत्ता लागेको छ । सुत्नुअघि स्क्रिनमा बस्दा अनिद्राको जोखिम रहन्छ । स्क्रिनबाट उत्पन्न हुने नीलो प्रकाशबाट बचाउने वस्तुहरू बजारमा प्रशस्त पाइन्छन्, जसले मिठो निद्राका लागि सघाउ पु¥याउँछन् ।
के ती उत्पादनले वास्तवमै काम गर्छन् ? के स्क्रिन लाइटले हाम्रो सर्केडियन लय परिवर्तन गर्न सक्छ ? यी प्रश्नको जवाफ सहज छैन ।
सर्केडियन लयले कसरी काम गर्छ ?
जन्मजात शारीरिक घडी ‘सर्केडियन लय’ हो बोटबिरुवा, ढुसी र अन्य जनावरसहित जीवनका विभिन्न रूपमा पाइन सकिन्छ । मानव शरीरमा ‘सर्केडियन लय’ मस्तिष्कको ‘हाइपोथालामस’ भागमा हुन्छ । यो भागले आवेग, भोक, तिर्खा र निद्रा नियन्त्रणमा राख्छ ।
हाइपोथालामसले मेलाटोनिन नामक हर्मोन छाड्छ । मेलाटोनिनलाई ‘स्लिप हर्मोन’का रूपमा चिनिन्छ । कारण– यसको स्तर रातमा अधिक हुन्छ तर बिहान उठ्नुअघि नै कम हुन्छ । यो घडीको आन्तरिक लय छ तर त्यसलाई प्रकाशको प्रक्रियामा पनि समायोजित गर्न सकिन्छ ।
स्विडेनको क्यारोलिन्स्का इन्स्ट्यिुटका निद्रा अनुसन्धान विज्ञ प्राध्यापक जोन एक्सेल्सनले भने, ‘मास्टर घडीमा लगभग २४ घण्टा आन्तरिक लय सम्मिलित हुन्छ । यो साँझबिहान प्रकाशप्रति धेरै संवेदनशील हुन्छ । त्यसैले, सर्केडियन प्रणाली सुधार गर्न, प्रणालीलाई गतिशील हुन तथा दिन र रातमा मौसमी परिवर्तन अनुकूल गर्न सहज बनाउँछ ।’
प्रविधिले सार्केडियन लय परिवर्तन गर्दैछ ?
बल्ब लाइटदेखि नयाँ टचस्क्रिन फोनजस्ता आधुनिक प्रविधिले प्रकाश उत्सर्जन गर्छन् । स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक जेमी जिजर भन्छन्, ‘प्रकाशले मुख्यतया घडीमा दुईवटा काम गरिरहेको छ । यसले घडीको समय स्थापित गरिरहेको छ र घडीको आयाम वा शक्ति परिवर्तन गर्दैछ ।’
जब हाम्रो सर्केडियन लयले मेलाटोनिनको स्तर परिवर्तन गर्छ, यसले हाम्रो शरीर घडीलाई के असर गरिरहेको छ भनेर थाहा पाउन हामी यस ‘स्लिप हार्मोन’का स्तरहरू प्रयोग गर्न सक्छौँ । धेरै अध्ययनले चहकिलो, कृत्रिम प्रकाशले मानव शरीरमा मिलाटोनिन उत्पादन घटाउने देखाएका छन् ।
अनौठो के छ भने धेरै कृत्रिम उज्यालो प्रकाशलाई थेरापीका रूपमा प्रयोग गरिन्छ । फोटोथेरापी, जसले चाँडै सुते पनि ढिलो उठ्ने मानिसलाई मद्दत गर्ने विश्वास छ ।
फोटोथेरापीमा प्रयोग गरिएको प्रकाशको तीव्रता हामीले प्रयोग गर्ने कुनै पनि स्क्रिन वा लाइट बल्बबाट उत्सर्जित हुने प्रकाश वा किरणभन्दा धेरै हुन्छ । सन् २०१४ को अध्ययनले अझ यथार्थपरक परिदृश्यमा अनुसन्धान गर्यो– सुत्नुअघि साधारण पुस्तक वा प्राविधिक वस्तुमा पुस्तक पढ्ने मानिसको मेलाटोनिनको स्तर र निद्राको गुणस्तर तुलना गरे । र, प्राविधिक वस्तुमा पुस्तक पढ्नेहरूमा मेलाटोनिनको स्तर कम पाए ।
‘१.५ घण्टा वा अधिक समय चम्किला स्क्रिनको प्रयोगले राति मेलाटोनिनको वृद्धि कम गर्छ र यो प्रभाव धेरै रातसम्म हुनसक्ने प्रमाण फेला परेका छन्,’ वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयका डा. सेले रिचर्डसनले भनिन्, ‘यद्यपि, यसले निदाउनका लागि लामो समय लाग्ने समस्याबारे बताउँदैन ।’
निद्राको शैलीमा प्रविधिको भूमिका
शरीरमा मेलाटोनिनका धेरै प्रभाव हुन्छन्, जुन निद्रा र त्यसबाट जगाउने चक्रसँग सम्बन्धित छ । कसरी कम मात्रामा मेलाटोनिनले हाम्रो निद्राको गुणस्तरमा असर गर्छ भन्ने हामीलाई वास्तविकता जानकारी छैन ।
प्रविधिको प्रयोग र त्यसले निद्राको गुणस्तरमा पार्ने प्रभाव वा ढिलो निद्रा लाग्ने समस्याबारे धेरै अनुसन्धान भएका छन् । यद्यपि, ती अध्ययनबाट अधिक समय स्क्रिनमा बिताउँदा निद्रामा के समस्या आउँछ भन्ने स्पष्ट गर्न सकेका छैनन् ।
उदाहरणका लागि, सन् २०१४ को अध्ययनले मुद्रित पुस्तकहरू पढ्ने अधिकांश मानिस ई–बुक पाठकहरू भन्दा १० मिनट अगाडि निदाउने पत्ता लगायो । अन्य अध्ययनले साधारण स्क्रिन प्रयोग गर्ने र स्क्रिनको नीलो प्रकाश कम गर्न अरू उत्पादन प्रयोग गर्ने मानिसबीच तुलना गरे । ती अध्ययनबाट निद्राको समयमा ३–४ मिनटको मात्र फरक पाइयो ।
निद्रालाई धेरै पक्षले असर गर्ने भएकाले स्क्रिनमा बिताइने समयले नै प्रभाव पारेको हुन सक्ने ठम्याउन गाह्रो हुन्छ । डा. रिचर्डसनले भने, ‘प्रविधि प्रयोग र निद्राबीच द्वि–दिशात्मक सम्बन्ध हुन सक्ने सम्भावना छ । प्रविधि प्रयोगले सुत्ने समयमा असर गर्न सक्छ यद्यपि निद्रामा समस्या भएका व्यक्तिले पछि प्रविधिको प्रयोग बढाउन सक्छन् ।’
तथापि, कृत्रिम प्रकाशले हाम्रो सर्केडियन लयमा परिवर्तन गर्छ भन्नेमा हामी स्पष्ट छौँ । किनकि, त्यसले मेलाटोनिनको स्तरमा भिन्नता ल्याउँछ ।
– साइन्स अलर्ट डट कमबाट
No Comments yet!