काठमाडौँ ,चीनले सहयोग स्वरुप उपलब्ध गराउने कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको जहाज सोमबार त्यस तर्फ जाँदैछ।
निगमको चाटर्ड विमान सोमबार राति ११ बजे बेइजिङ्गका लागि प्रस्थान गर्ने तयारी रहेको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए।
निगमको वाइडबडी विमान एअर बस ३३० मंगलबार बिहान १० बजेतिर खोप लिएर काठमाडौँ आइपुग्ने तालिका छ। सो विमानमा करिब ८ लाख मात्रा खोप ल्याइने छ।
चीनका राष्ट्रपति सी जिनपिङ्गले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग गएको बुधबार भएको टेलिफोन वार्ताको क्रममा १० लाख मात्रा खोप उपलब्ध गराउने बताएका थिए। सोही प्रतिवद्धता अन्तर्गतको खोप लिनका लागि निगमको जहाज जान लागेको हो।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा अत्यावश्यक अरु स्वास्थ्य सामग्रीको सहयोग जुटे पनि खोपको भने अभाव रहँदै आएको छ।
तर सरकारले विभिन्न देशसँग खोप सहयोगका लागि औपचारिक रुपमै आग्रह गरिएको बताएको छ। अमेरिका तथा बेलायतलाई खोप सहयोगका लागि राष्ट्रपतिकै तर्फबाट पत्र पठाइसकिएको छ।
No Comments yet!