Skip to main content

सार्क राष्ट्र प्रमुखहरुको बैठक बोलाउन प्रधानमन्त्री देउवासँग माग

काठमाडौं, मानव अधिकार तथा शान्ति समाजले दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । सरकारी निवास बालुवाटारमा सोमवार ज्ञापनपत्र बुझाउँदै समाजले अध्यक्ष राष्ट्रको हैसियतले सार्क सक्रिय बनाएर दक्षिण एसियामा शान्ति र स्थायित्वका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेको हो ।

समाजले सार्क राष्ट्र सरकार प्रमुखको बैठक बोलाउन पनि माग गरेको छ । अफगानिस्तानमा तालिवानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एसियाली नागरिकहरुको उद्धार र सकुशल आ-आफ्नो देश फिर्तिका लागि अध्यक्ष राष्ट्र नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखको भर्चुअल बैठक आयोजना गरि एकीकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न समाजका पदाधिकारीले आग्रह गरेका हुन् ।

यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमासमेत ध्यानाकर्षण गराइएको छ । छलफलमा आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन/निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न आग्रह गरिएको समाजका सभापति गोविन्द खनालले जानकारी दिए । प्रतिनिधिमण्डलमा सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न थिए ।

No Comments yet!

Your Email address will not be published.