Skip to main content

प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक

काठमाडौँ: सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले केन्द्रीय कमिटी बैठक सोमबार डाकेको छ ।

पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ । तर कार्यदलको सहमतिअनुसार वरिष्ठ नेता माधव कुमार नेपालसँग सल्लाह गरेर मात्रै बैठक डाक्न सो समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका छन् ।

तर अध्यक्ष ओलीले कार्यदलको सहमतिलाई अनुमोदन गरेर अघि बढेकाले अब बैठकमा सहभागी भएर पार्टी काममा लाग्ने बाटो खुलेको जवाफ दिएका छन् । सहमतिका लागि भन्दै पार्टीको बैठक अब नरोकिने उनले अडान लिएका छन् ।

एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

No Comments yet!

Your Email address will not be published.